भोटेकोशी बाढी प्रभावितलाई नुवाकोट रेडक्रसको निःशुल्क एम्बुलेन्स सेवा

लोकपथ
0
Shares

बिदुर । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका नागरिकहरुका लागि नुवाकोट रेडक्रसले निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।

बाढीका कारण त्रिशूली नदी वारी र पारिको क्षेत्र सडक सञ्जालमा जोडिन नसकेका कारण यस क्षेत्रका नागरिकको स्वास्थ्योपचारमा समस्या देखिएपछि रेडक्रसले निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो ।

बाढी पछि नुवाकोट र रसुवाको प्रमुख स्वास्थ्योपचार केन्द्रको रुपमा रहेको त्रिशूली अस्पतालबाट थप उपचारका लागि काठमाडौं पठाउन पर्ने बिरामीहरुका लागि रेडक्रसले एउटा एम्बुलेन्सबाट सेवा दिईरहेको छ ।

त्रिशूली अस्पतालबाट नुवाकोट सदरमुकामसंग सडक सम्पर्क टुटेपछि अहिले गौरिबेसी,सिर्खाली, तारुकाघाट, गल्छी हुँदै बिरामीलाई काठमाडौं लैजाने गरिएको छ ।

यसैगरी सदरमुकाम क्षेत्रका रहेका बिरामीहरुलाई बट्टारमा रहेको रेडक्रस आपतकालिन क्लिनिक र तल्लो पिपलटारमा रहेको आयुर्बेद तथा बैकल्पिक चिकित्सालयमा उपचार सम्भव नभएको अवस्थामा निःशुल्क रुपमा काठमाडौंका अस्पतालहरुमा लैजाने प्रबन्ध मिलाईएको नुवाकोट रेडक्रसका सभापति हरी श्रेष्ठले जानकारी दिए ।

नुवाकोटको सदरमुकाम बिदुर क्षेत्रमा चितवन रेडक्रसको रत्ननगर उपशाखाको एम्बुलेन्सले सेवा दिईरहेको छ । त्रिशूली नदी वारी र पारिका बिदुर नगरपालिकाको क्षेत्रमा बिरामीहरुलाई निःशुल्क सेवा प्रवाह गरिएको र हालसम्म ५ जना बिरामीलाई काठमाडौं लगिएको छ ।

नुवाकोट रेडक्रसका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीका अनुसार यसरी सेवा प्रवाह गर्दा लाग्ने ईन्धन र मर्मत खर्च नुवाकोट रेडक्रसले नै व्यहोर्ने ब्यवस्था मिलाईएको छ भने दुबै एम्बुलेन्स चौबिसैघण्टा तम्तयार अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?