काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा नारायणी नदीको बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
बाढी बस्तीमा पस्न थालेपछि विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालका अनुसार नारायणी नदीमा आएको बाढी सुस्ता बस्तीमा पसेपछि अधिकांश घर डुबानमा परेका छन् । शुक्रबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण १०० भन्दा बढी घर डुबानमा परेको उनले बताए । सुस्तामा २२० परिवार बसोबास गर्दै आएका छन् ।
उनका अनुसार सुस्ताको थारू टोलमा सबैभन्दा पहिले बाढी पसेको थियो ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार बाढी पसेका घरका नागरिकलाई सुस्तामा रहेको आश्रयस्थलमा राखिएको छ । नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले महिला, बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्तिलाई नदीवारि सुस्ता–५ मा रहेको बीपी माध्यमिक विद्यालय, बलिनगरमा ल्याउने तयारी भइरहेको छ ।
उद्धार तथा स्थानान्तरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं। २६ गणका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीका अनुसार अहिलेसम्म बाढीमा फसेका २९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा पठाएको छ ।
स्थानीय मुन्सीकुमार हरिजनका अनुसार बाढीका कारण पक्की घरको तुलनामा कच्ची घरमा बढी क्षति पुगेको छ । खरपात तथा माटोले बनेका घरहरूमा क्षति बढी भएको उनले बताए ।
गण्डक ब्यारेज वाल्मीकिनगरका अनुसार नारायणी नदीमा अहिले दुई लाख ८० हजार क्युसेक पानी पुगेको छ । यो वर्ष नारायणीमा मापन गरिएको यो अहिलेसम्मकै ठूलो बहाव हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया