कृष्णभीरसहित पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो, सडक पूर्ण अवरुद्ध

लोकपथ
0
Shares

काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण धादिङ र चितवन खण्डमा सवारी आवागमन रोकिएको हो ।

धादिङको कृष्णभीरमा रातिदेखि नै पहिरो र ढुंगा खसेको थियो । पहिरो पन्छाउने काम भइरहेको भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भएको छ । कृष्णभीरमा तलबाट समेत सडक भासिन थालेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन् ।

उनका अनुसार कृष्णभीरसहित जरे, जवाङखोला, परेवाभीर, कमेरेभीर र ज्यामिरेलगायत स्थानमा पहिरो खसेको छ । पहिरो हटाउने काम जारी रहे पनि पानी परिरहेकाले समस्या भइरहेको उनले बताइन् ।

यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित फिस्लिङ नजिकै धारापानीमा शुक्रबार बिहान सवा ६ बजे सडक भासिएको छ । सडक भासिएपछि उक्त खण्डमा पनि सवारी आवागमन अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । चितवन प्रशासनले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरेको छ ।

नेपाल मौसम विज्ञान विभागले आगामी असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । थप बाढीपहिरो र जोखिमको सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले सवारी आवागमनमा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?