नागरिक लगानी कोषमा पारदर्शिता र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकता : अर्थमन्त्री वाग्ले

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले विधेयकले कोषलाई थप सशक्त र जिम्मेवार बनाउने बताए ।

उनले नागरिक लगानी कोष नेपाली नागरिकको भविष्यसँग जोडिएको संवेदनशील संस्था भएकाले समयानुकूल रूपमा अद्यावधिक गर्न आवश्यक रहेको उल्लेख गरे । सांसदहरूले उठाएका विषय र दिएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका विषयलाई पाँच मुख्य बुँदामा संश्लेषण गर्दै कोषको लगानीको दायरा फराकिलो बनाउन तथा संस्थागत सुधार गर्न सरकार सकारात्मक रहेको बताए ।

आन्तरिक बचत परिचालनको महत्वमा जोड दिँदै उनले राष्ट्रिय बचतले मात्र देशको ठूलो लगानी खाडल पूर्ति गर्न नसक्ने बताए ।

‘हाम्रो राष्ट्रिय बचतले मात्र लगानीको ठूलो खाडल पुर्न सक्दैन, त्यसैले आन्तरिक र बाह्य दुवै स्रोतको परिचालन अपरिहार्य छ,’ उनले भने, ‘हामी निजी बैंकमा जस्तो हस्तक्षेप गर्दैनौँ, तर सरकारको वित्तीय र मौद्रिक नीति कार्यान्वयनका लागि यी संस्थाहरू औजार हुन् ।’

केही सांसदहरूले आन्तरिक बचत पर्याप्त रहेको धारणा राखे पनि देशको राजस्व र खर्चको अवस्था हेर्दा ठूलो लगानीको आवश्यकता रहेको उनले बताए ।

जोखिम व्यवस्थापनका विषयमा सांसदहरूले उठाएको चासोलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि उनले स्पष्ट पारे । ‘नाफा निजीकरण र घाटा सामाजिकीकरण’ हुने जोखिमप्रति सचेत रहँदै सार्वजनिक संस्थामा हुने जोखिमपूर्ण लगानीको सीमा तोकिने उनले बताए ।

स्वार्थ बाझिने अवस्था आउन नदिन आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले सार्वजनिक संस्थामा सरकारको नियन्त्रण र नियमन आवश्यक रहेको बताए ।

सरकारको नीति कार्यान्वयनका लागि सार्वजनिक संस्थाहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उल्लेख गर्दै उनले नियुक्त पदाधिकारीहरूलाई उत्तरदायी बनाउन सरकारले विशेष ध्यान दिने बताए ।

डिजिटल प्रविधिको उपयोग तथा संस्थागत सुधारसम्बन्धी प्रस्तावलाई समेत समेटेर विधेयकलाई थप जिम्मेवार ढङ्गले अघि बढाउने प्रतिबद्धता अर्थमन्त्री वाग्लेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?