कुमारी र सिटिजन्स बैंकले बोलाए साधारणसभा, यस्तो छ लाभांश प्रस्ताव

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेका छन् । दुवै बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावसहित असोज २८ गते साधारणसभा बोलाएका हुन् ।

कुमारी बैंकले २६औँ वार्षिक साधारणसभा असोज २८ गते बिहान ११ बजे काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा गर्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई चुक्तापुँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यो रकम ५५ करोड २१ लाख २३ हजार ३९६ रुपैयाँ ६३ पैसा रहेको छ । उक्त रकममा करसमेत समावेश छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।

यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने भएको छ ।

यसैगरी, सिटिजन्स बैंकले २०औँ वार्षिक साधारणसभा पनि असोज २८ गते बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा गर्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा ३।८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश रहेको छ ।

बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्तापुँजी वृद्धि हुनेछ । त्यसका लागि नियमनकारी निकायबाट निर्देशन आएमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनीहरूको एकीकृत वित्तीय विवरण तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

सिटिजन्स बैंकले पनि साधारणसभा तथा लाभांश प्रयोजनका लागि असोज १९ गते बुक क्लो गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?