प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता, सिन्डिकेट हटाउने विषयमा छलफल

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शाहले यस्तो प्रवृत्तिका कारण नेपाली श्रमिकहरू समस्यामा परेको बताएका थिए ।

‘हामीलाई सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहले भने ।

उनले समस्या स्थायी रूपमा समाधान गर्न नेपाल र मलेसियाका श्रममन्त्रीबीच प्रत्यक्ष छलफल गराउनुपर्नेमा जोड दिएका छन् । साथै, दुवै देशका श्रममन्त्रीलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहको प्रस्तावलाई मलेसियाका प्रधानमन्त्री इब्राहिमले सकारात्मक रूपमा लिएका छन् । उनले आफू पनि सिन्डिकेट र विचौलिया प्रथाको विपक्षमा रहेको बताएका छन् ।

इब्राहिमले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपाली समकक्षीसँग तत्काल समन्वय गरी समस्या समाधानका लागि काम गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?