मोटर बीमाको हिस्सा साढे २२ प्रतिशतमा झर्‍यो, सम्पत्ति बीमा ३० प्रतिशत नाघ्यो

लोकपथ
0
Shares

काठमाडौं । कुनै समय निर्जीवन बीमा व्यवसायको सबैभन्दा ठूलो हिस्सा ओगट्ने मोटर बीमाको हिस्सा पछिल्लो समय घट्दै गएको छ । चालु आर्थिक वर्षको साउनमा निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २२.६४ प्रतिशतमा सीमित भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा मोटर बीमाबाट १ अर्ब २२ करोड २९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमा शुल्कको २२.६४ प्रतिशत हो । विगतमा निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३५ प्रतिशतभन्दा बढी रहने गरेको थियो ।

यता, सम्पत्ति बीमाप्रति भने आकर्षण बढ्दै गएको देखिएको छ । बीमा सम्बन्धी जनचेतना विस्तार हुँदै जाँदा सम्पत्तिको बीमा गर्ने क्रम बढेको हो । साउनमा सम्पत्ति बीमाबाट १ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यो कुल निर्जीवन बीमा व्यवसायको ३०.६९ प्रतिशत हो ।

त्यस्तै, इन्जिनियरिङ तथा हेक्का बीमाबाट ७५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यस क्षेत्रको कुल व्यवसायमा हिस्सा १४ प्रतिशत रहेको छ ।

साउनमा सामुद्रिक बीमाबाट ४२ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमा व्यवसायमा यसको हिस्सा ८ प्रतिशत रहेको छ ।

त्यसैगरी, स्वास्थ्य बीमाको हिस्सा ६ प्रतिशत, कृषि तथा बाली बीमाको ३.५६ प्रतिशत, हवाई बीमाको २.४९ प्रतिशत र लघु बीमाको हिस्सा १.३६ प्रतिशत रहेको छ ।

यसले निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको निर्भरता घट्दै जाँदा सम्पत्ति, इन्जिनियरिङलगायत अन्य बीमा व्यवसायको हिस्सा बढ्दै गएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?