१२ युवा नेपाली विद्यार्थीले पूरा गरे दायित्व नेपाल सार्वजनिक नीति फेलोसिप २०२६

लोकपथ
0
Shares

काठमाडौं । दायित्व नेपाल सार्वजनिक नीति फेलोसिप (DNPPF) २०२६ अन्तर्गत १२ जना युवा नेपाली विद्यार्थीले तीनमहिने फेलोसिप पूरा गरेका छन् । उनीहरूको दीक्षान्त समारोह शुक्रबार काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको हो ।

समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भई १२ जना फेलोलाई सम्मानसहित औपचारिक रूपमा दीक्षित गरे । ३०० भन्दा बढी आवेदकबाट छनोट भएका फेलोहरूले तीन महिनाको अवधिमा नीतिगत अनुसन्धान, विश्लेषण तथा संसदीय सहयोगसम्बन्धी काम गरेका थिए ।

फेलोहरूले राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय कृत्रिम बुद्धिमत्ता केन्द्रलगायत विभिन्न सरकारी निकाय तथा संसदीय समितिसँग सहकार्य गरेका थिए ।

दीक्षान्त समारोहमा सार्वजनिक, निजी तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा युवा र सरकारबीचको सहकार्य तथा प्रमाणमा आधारित नीतिनिर्माणमार्फत नेपालको आर्थिक सुधारका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमअन्तर्गत ‘एलडीसीबाट स्तरोन्नतिपछि नेपालले कस्तो अर्थतन्त्र निर्माण गर्ने ?’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो। विकास अर्थशास्त्री तथा इन्स्टिच्युट फर फ्युचरका अध्यक्ष भोजराज पौडेलले सहजीकरण गरेको छलफलमा सरकारका पूर्वमुख्यसचिव डा। बैकुण्ठ अर्याल, प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रबिन मनसिंह, पौरखी नेपालकी सहसंस्थापक मञ्जु गुरुङलगायत सहभागी थिए ।

समारोहमा फेलोहरूले आफ्नो अनुसन्धानबाट प्राप्त प्रमुख निष्कर्ष तथा सुझावहरू पनि प्रस्तुत गरेका थिए । साथै फेलो, सार्वजनिक तथा वित्तीय साझेदार र फेलोसिपका मेन्टरले कार्यक्रमका अनुभव तथा प्रतिबिम्ब प्रस्तुत गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै गभर्नर प्रा। डा। विश्व पौडेलले नीतिगत गतिरोध समाधानका लागि स्पष्ट कानुनी संरचना आवश्यक रहेको बताए। उनले एउटा कानुनले अर्को कानुनलाई काट्ने अवस्था नहुने गरी कानुन स्पष्ट र द्विविधारहित हुनुपर्ने धारणा राखे ।

DNPPF २०२६ को समापनसँगै फेलोहरूले सार्वजनिक संस्थासँगको तीनमहिने संलग्नता पूरा गरेका छन् । कार्यक्रमले प्रमाणमा आधारित नीतिनिर्माण तथा नेपालको विकास र आर्थिक सुधारको क्षेत्रमा युवा नेपाली पेशाकर्मीको योगदानलाई जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?