काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि काम गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न अग्रसर हुन आग्रह गरेका हुन् ।
उनले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिए ।
प्रधानमन्त्री शाहले राजनीतिलाई पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न पनि सांसदहरूलाई आग्रह गरे । दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न र अरूका लागि प्रेरणाको स्रोत बन्न उनले सुझाव दिएका हुन् ।
‘राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन । त्यसैले सांसदहरू अरू नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ,’ उनले भने, ‘सांसदको भूमिका सकिएपछि तपाईंहरूलाई अब आम्दानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस् । त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यवसाय पनि सुरु गर्नुहोस् ।’
अन्तरक्रियामा सहभागी जेनजी उमेर समूहका सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सांसदहरूले जेनजी आन्दोलनका सहिद तथा घाइते, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरू, कानुन निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना प्रविधि तथा आफ्ना निर्वाचन क्षेत्र केन्द्रित विभिन्न विषय प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
अन्तरक्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा विक, पुष्पाकुमारी चौधरी, श्रद्धा कुँवर क्षेत्री, स्मृति सेञ्चुरी, शिवशंकर यादव, केपी खनाल, मनिष खनाल, पुरुषोत्तम शुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया