एमाले सांसद बरालको प्रश्न– सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार असफल भएको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको बताइन् ।

उनले ग्यास अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा पनि सरकार जवाफदेही बन्न नसकेको आरोप लगाइन् । सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको आधारभूत आवश्यकतासमेत सम्बोधन गर्न नसकेको बताइन् ।

‘सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले । हिटलरले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो । के बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो रु निरंकुशता शैली हो ?’ उनले प्रश्न गरिन् ।

उनले ग्यास नपाउनु र महंगी बढ्नुको कारणबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन् । साथै, जनताको आधारभूत आवश्यकताका विषयमा सरकारलाई जवाफदेही बनाउन सभामुखमार्फत रुलिङ गर्न माग गरिन् ।

‘मान्छेहरू ग्यास नपाएर भोकै छन्, किन ग्यास छैन, किन महंगी भयो भन्ने कुरामा सरकार किन जवाफदेही हुँदैन ?’ उनले प्रश्न गरिन् ।

जेनजी आन्दोलनको प्रसंग उल्लेख गर्दै बरालले सरकारको नैतिकतामाथिसमेत प्रश्न उठाइन् । सरकारले ग्यास अभाव र महंगी नियन्त्रणका विषयमा स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?