रसुवा । चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव पहिचान गरी आज परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार भोटेकोशी नदीमा आएको बाढीपछि केन्द्रमा फसेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव फेला परेको हो ।
उनीहरूको शव केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न फेला परेको थियो । फेला परेका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट लगेर परिवारजनलाई हस्तान्तरण गरिएको महर्जनले बताए ।
उद्धार कार्यका लागि नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी परिचालन भएका थिए ।
महर्जनका अनुसार भोटेकोशी नदीको सतहबाट २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढी पुगेको थियो । बाढीले सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुईवटा टर्बाइनसहित जलविद्युत् केन्द्रका सम्पूर्ण संरचना ध्वस्त भएको छ ।
यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको जानकारी दिए । उनका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न एक महिनाको समय तोकेर कार्यादेशसहित २५ सदस्यीय समिति गठन गरिएको छ ।
नदीमाथि तुइन तथा फड्के निर्माण गरी आवतजावत सहज बनाइएको उनले बताए । बाढीपछि फैलिन सक्ने हैजा तथा अन्य विपद्जन्य महामारी रोकथामका लागि आवश्यक औषधिसहित स्वास्थ्य जनशक्तिको व्यवस्थासमेत गरिएको पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया