काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा उल्लेख्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ बिन्दुमा पुगेको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो असार ३० गतेपछि कै उच्च कारोबार रकम हो । असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका सबै १३ उपसूचक बढेका छन् । जीवन बीमा, निर्जीवन बीमा र वित्त समूहका कम्पनीको सेयरमा तुलनात्मक रूपमा बढी आकर्षण देखिएको छ ।
यस दिन २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले ३० प्रतिशत नगद लाभांश घोषणा गरेपछि यसको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, लक्ष्मी सनराइज बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र गरिमा विकास बैंकको सेयरमा पनि उल्लेख्य कारोबार भएको छ ।
मंगलबार अधिकांश कम्पनीको सेयर मूल्य बढ्नु, सबै उपसूचक सकारात्मक रहनु र कारोबार रकम ८ अर्ब रुपैयाँभन्दा माथि पुग्नुले बजारमा खरिदकर्ताको सक्रियता बढेको संकेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया