काठमाडौं । काठमाडौं उपत्यकाबाट विभिन्न मितिमा हराएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारीसाधन धनीलाई हस्तान्तरण गरेका हुन् ।
ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही सवारीसाधन वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेका थिए ।
सवारीसाधन हस्तान्तरण गर्दै प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले आफ्नो मोटरसाइकलमा सम्भव भएसम्म जीपीएस प्रणाली जडान गर्न आग्रह गरे । जीपीएस जडान गरिएको अवस्थामा हराएको सवारीसाधन ट्र्याक गरी खोजी गर्न सहज हुने उनको भनाइ छ ।
उनले केही दिनअघि राति हराएको एउटा मोटरसाइकल जीपीएसकै सहयोगमा केही घण्टामै फेला पारिएको र चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको जानकारी दिए ।
काफ्लेले मोटरसाइकल पार्किङ गर्दा सुरक्षित स्थान छनोट गर्न र सवारीसाधनको सुरक्षाका लागि जीपीएसलगायत अन्य उपाय अपनाउन पनि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया