महानगरहरूमा घरजग्गा कारोबारमा ठूलो उछाल, काठमाडौंमा १५६ प्रतिशतसम्मको वृद्धि

लोकपथ
119
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबार बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो ।

महानगरपालिकामध्ये काठमाडौंमा घरजग्गा कारोबार सबैभन्दा बढी बढेको छ । काठमाडौं महानगरपालिकामा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ । त्यस्तै, ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार बढेको छ ।

कारोबार भएको क्षेत्रफल र कुल मूल्यमा पनि काठमाडौं महानगरपालिका अगाडि छ । काठमाडौंमा कारोबार भएको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने कारोबारको कुल मूल्य २१७.४० प्रतिशतले वृद्धि भएको छ ।

उपमहानगरपालिकातर्फ धनगढीमा घरजग्गा कारोबार संख्या ७३.१६ प्रतिशतले बढेको छ । कारोबार भएको क्षेत्रफल वृद्धिमा हेटौंडा १०४.१६ प्रतिशतसहित अगाडि छ । हेटौंडामा घरजग्गा कारोबारको कुल मूल्य १८६.८० प्रतिशतले बढेको छ ।

देशभर लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ । त्यस्तै, राजीनामा कारोबार २२.८८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजीनामा कारोबार ८.१५ प्रतिशतले मात्रै बढेको थियो ।

समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल पनि १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

पछिल्लो तथ्यांकले घरजग्गा बजारमा कारोबार संख्या, क्षेत्रफल र कुल मूल्यमा सुधार आएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?