काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाभर बिल–बिजक लिने र अनलाइनमार्फत सामान खरिद गर्ने उपभोक्तामध्येबाट ३३ जना विजेता छनोट गरिनेछ ।
भदौ १ देखि १५ गतेसम्मका कारोबारबाट १५ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन् ।
त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मका कारोबारबाट १६ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउने विभागले जनाएको छ ।
यसरी भदौ महिनाका लागि ३१ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले र दुई जनाले १० लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।
पुरस्कारमा सहभागी हुन उपभोक्ताले १ सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ । नगदमा कारोबार गरी बिल लिनेले विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा बिल अपलोड गरी कुपन लिनुपर्नेछ । अनलाइनबाट गरिएको कारोबार भने प्रणालीमा स्वतः समावेश हुने विभागले जनाएको छ ।
पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । त्यसपछि १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार पाउनेले १ लाख रुपैयाँ र १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
साउन महिनामा पनि ३३ जना उपभोक्ताले करदाता प्रोत्साहन पुरस्कार जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया