कृष्णभीर सडकखण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी

लोकपथ
0
Shares

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको नागढुङ्गा–मुग्लिङ सडकअन्तर्गत कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ ।

सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको अधिकारीले बताइन् । उनका अनुसार आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुँदै आएको छ । केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो ।

शनिबार कटिङको काम लगभग सकिएपछि अहिले ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेका छन् । ग्रेड सुधारको काम सकिएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ ।

सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको अधिकारीले बताइन् । त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।

त्रिशूली बाढीपछि पहिरो जाँदा र सडक भासिएपछि कृष्णभीर क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । सडक योजना कार्यालयले नयाँ ट्रयाक निर्माण गरी यातायात सुचारु गर्ने उद्देश्यले उपकरण तथा जनशक्ति परिचालन गरेर काम अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?