‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन

लोकपथ
56
Shares

काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

पार्टीका कार्यकर्ताले थालमा चामल राखेर सरकारविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन गरेका थिए । उनीहरूले महँगी बढ्दा र ग्यासको अभाव हुँदा पनि सरकारले जनताको समस्या नदेखेको आरोप लगाए ।

प्रदर्शनमा सहभागी नेकपा बहुमतको अध्यक्षमण्डलका सदस्य गुणराज लोहनीले सरकारले तत्काल ग्यास आपूर्ति सहज नगरे पार्टीले डिपोमा रहेका ग्यास जनताको सहभागितामा वितरण गर्ने चेतावनी दिए ।

उनले पर्याप्त ग्यास आए पनि सरकारले व्यवस्थित रूपमा वितरण गर्न नसकेको आरोप लगाए । डिलरमार्फत नियमित रूपमा ग्यास वितरणको व्यवस्था गर्नुपर्ने र आवश्यक परे सेना तथा प्रहरी परिचालन गर्नुपर्ने उनको माग थियो ।

लोहनीले ठूला होटलमा मौज्दात रहेको ग्याससमेत आवश्यकताअनुसार वितरण गर्नुपर्ने बताए । सामान्य उपभोक्ता र साना व्यवसायीले ग्यास नपाउने तर ठूला होटलमा ग्यास उपलब्ध हुने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

ग्यास वितरणमा अनियमितता र कालोबजारी भएको आरोप लगाउँदै उनले त्यसको छानबिन गर्न सरकारसँग माग गरे । सरकारले तत्काल समस्या समाधान नगरे डिलरमा पुगेर ग्यास वितरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा गिरफ्तारी दिनुपरे पनि तयार रहेको उनले बताए ।

प्रदर्शनकारीहरूले ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार’, ‘दुईतिहाइको सरकार ओई, जनतालाई ग्यास खोई ?’, ‘भोको पेटले के भन्छ, भरि ग्यास दे भन्छ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरूले ग्यासको सहज आपूर्ति, महँगी नियन्त्रण र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?