नुवाकोट । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।
त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भएपछि बाढीपछिको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै प्रहरीले लेभल–१ फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो ।
अस्पतालमा विशेषज्ञ चिकित्सकसहित चौबिसै घण्टा आकस्मिक सेवा, बहिरंग सेवा ९ओपीडी०, वार्ड, प्रयोगशाला र औषधि सेवा निःशुल्क उपलब्ध गराइएको प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिए ।
उनका अनुसार बाढीपछि मानवीय तथा पशुचौपायको क्षतिका कारण संक्रमणजन्य रोग फैलिन सक्ने जोखिम रहेकाले आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन फिल्ड अस्पताल सञ्चालन गरिएको हो । बाढीले पुलसमेत बगाएपछि रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था सिर्जना भएकाले विदुरमै विशेषज्ञ सेवा उपलब्ध गराइएको उनले बताए ।
बाढीपछि सरुवाजन्य रोगको संक्रमणको जोखिम उच्च हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । साथै, विपद्पछि प्रभावितमा देखिन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा उपचारका लागि मनोपरामर्श सेवासमेत अस्पतालले प्राथमिकतामा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार होल्डिङ सेन्टरमा फरक–फरक बस्तीका मानिस एकै ठाउँमा बस्दा संक्रमण फैलिन सक्ने भएकाले स्वास्थ्यकर्मीमार्फत आवश्यक सचेतना दिइँदै आएको छ ।
शव र सिनोको दुर्गन्ध, प्रदूषित पानी तथा प्रतिकूल मौसमका कारण हैजा लगायतका रोग फैलिन सक्ने जोखिम रहेकाले त्यसलाई लक्षित गरी विशेषज्ञ चिकित्सक र आवश्यक औषधिको व्यवस्था गरिएको उनले बताए ।
यसैबीच, बाढीमा हराइरहेका व्यक्तिको खोज तथा पहिचानका लागि प्रहरीको फिल्ड अस्पताल परिसरबाट डीएनए नमुना संकलन सेवासमेत सञ्चालनमा ल्याइएको छ । यसअघि हराइरहेका व्यक्तिका परिवारले डीएनए नमुना दिन काठमाडौं पुग्नुपर्ने अवस्था रहेकामा अब विदुरमै सम्पर्क केन्द्र स्थापना गरिएको प्रहरीले जनाएको छ ।
बाढीमा परिवारका सदस्य हराइरहेको भए डीएनए परीक्षणका लागि आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले सम्बन्धित परिवारलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया