रसुवा बाढी : यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा सरकारलाई ९१ लाख बढी सहयोग

लोकपथ
0
Shares

काठमाडौं । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ९१ लाख बढी आर्थिक सहयोग उपलब्ध गराएको छ ।

रसुवा बाढीपछिको उद्धार, राहत र पुनस्थापनाका लागि महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ९१ लाख ८४ हजार ६ सय ९५ रुपैयाँमा हस्तान्तरण गरेको हो ।

शुक्रबार महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलासहितको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण समारोहमा अध्यक्ष सिटौलाले सरकारलाई समस्या परेका बेला आफूहरु जुनसुकै सहयोग गर्न समेत तयार रहेको बताए ।

यता मन्त्री लम्सालले देशलाई दुखेको बेला यातायात व्यवसायी साथीहरुबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

‘देशलाई दुखेको बेला यातायात व्यवसायी साथीहरुबाट प्राप्त सहयोगका लागि धन्यवाद,’ उनले भनेका छन् ।

गत भदौ १० को बाढीपछि उद्धार, राहत र पुनस्थापनाका लागि सरकारले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थियो ।

हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?