साउनमा बढ्यो घरजग्गाको कारोबार, राजस्व संकलनमा १६.९२ प्रतिशत वृद्धि

लोकपथ
0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा घरजग्गाको कारोबारसँगै कित्ताकाट र यसबाट संकलन हुने राजस्वमा समेत वृद्धि भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको साउनमा घरजग्गाको कारोबार ९.३९ प्रतिशतले बढेको छ । कारोबारबाट संकलन हुने राजस्व भने १६.९२ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको साउनमा १ लाख ४ हजार २१८ पटक घरजग्गाको कारोबार भएकोमा चालु आवको सोही महिनामा यो संख्या बढेर १ लाख १४ हजार ८ पुगेको छ । त्यस्तै, लिखत पारितको संख्या पनि गत वर्षको ३१ हजार ६२१ बाट बढेर चालु आवको साउनमा ३३ हजार ९७८ पुगेको छ ।

घरजग्गाको कारोबारसँगै कित्ताकाटमा समेत उल्लेख्य वृद्धि भएको छ । गत वर्षको साउनमा २० हजार ९०१ कित्तालाई टुक्र्याएर ४२ हजार ५६३ कित्ता बनाइएको थियो । चालु आवको साउनमा भने ३० हजार ६८ कित्तालाई विभाजन गरी ६१ हजार १०२ कित्ता बनाइएको छ ।

राजस्व संकलनतर्फ गत आर्थिक वर्षको साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ संकलन भएको थियो । चालु आवको साउनमा यो रकम बढेर ३ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

घरजग्गाको कारोबार बढेको तुलनामा राजस्व संकलनको वृद्धि दर अझ उच्च देखिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घरजग्गा बिक्रीबाट प्राप्त लाभमा लाग्ने पूँजीगत लाभकर वृद्धि गरेकाले राजस्व संकलन बढ्न टेवा पुगेको जानकारहरूको भनाइ छ ।

यसअघि पाँच वर्षभन्दा कम अवधिसम्म होल्ड गरी घरजग्गा बिक्री गर्दा प्राप्त लाभमा ७.५ प्रतिशत र पाँच वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था थियो ।

चालु आर्थिक वर्षदेखि भने सरकारले पाँच प्रतिशतको दरलाई बढाएर ७.५ प्रतिशत तथा ७.५ प्रतिशतको दरलाई १० प्रतिशत पुर्‍याएको छ । करको दरमा भएको वृद्धिका कारण कारोबारको तुलनामा राजस्व संकलनमा बढी वृद्धि देखिएको जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?