नबिल बैंकले शेयरधनीलाई १५. ८०५ प्रतिशत लाभांश बाँड्ने

लोकपथ
0
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा रकम छुट्याइएको छ ।

उक्त रकममा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि हुने र यसमा करसमेत समावेश रहेको बैंकले जनाएको छ ।

बैंकको अग्राधिकार शेयरतर्फ चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तथा साधारण शेयरतर्फ चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ ।

बैंकले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

नबिल बैंकले हाल देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?