काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्वको ध्यानाकर्षण गराउनुपर्ने बताएका छन् ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्न शुक्रबार नुवाकोट पुगेका ओलीले जलवायु परिवर्तनको विषयलाई संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका हुन् ।
नेपालले वातावरण बिगार्न कुनै भूमिका नखेले पनि जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै उनले क्षतिपूर्तिको दाबी गर्नुपर्नेमा जोड दिए ।
‘जलवायुसम्बन्धी प्रश्न अत्यन्तै गम्भीर प्रश्न हो । यसलाई हामीले संयुक्त राष्ट्रसङ्घ लगायत विभिन्न अन्तर्राष्ट्रिय फोरममा उठाउँदै आएका छौँ । हामीले वातावरण सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्न सक्नुपर्दछ,’ ओलीले भने ।
उनले जलवायु परिवर्तनका कारण क्षति बेहोर्न बाध्य देशलाई वातावरणीय क्षति पुर्याउन भूमिका खेल्ने देशहरूले क्षतिपूर्ति दिनुपर्ने बताए ।
‘संयुक्त राष्ट्रसङ्घ लगायत साझा मञ्चबाट क्षतिपूर्तिको कुरा गर्नुपर्छ । किनभने हामीले वातावरणीय क्षति गरेका छैनौँ । क्षतिचाहिँ हामीले बेहोर्नुपरेको छ । त्यसकारण यसमा जसले बिगार्न भूमिका खेलिरहेका छन्, उहाँहरूले क्षतिपूर्ति दिनुपर्छ,’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया