काठमाडौं । बङ्गलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको छ ।
नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बङ्गलादेशले उक्त रकम सहयोग गरेको हो । राहत, पुनःस्थापना तथा मानवीय प्रयासमा सहयोग पुर्याउने उद्देश्यले बङ्गलादेश सरकारले सहयोग उपलब्ध गराएको जनाएको छ ।
बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराएका हुन् ।
यसअघि सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका थिए ।
आकस्मिक बाढीपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री वालेन्द्र शाहलाई सन्देश पठाउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका थिए । उनले विपद्का कारण प्रभावित परिवारप्रति समवेदना तथा सहानुभूति पनि व्यक्त गरेका थिए ।
त्यस्तै, राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत समवेदना प्रकट गरेका थिए ।
बाढी विपद्प्रति बङ्गलादेशको संसद्ले अगस्ट २७ मा बसेको बैठकमा शोक प्रस्ताव पारित गर्दै बाढीमा परी मृत्यु भएका तथा बेपत्ता व्यक्तिका परिवारप्रति दुःख र सहानुभूति व्यक्त गरेको थियो । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
संसद्ले विपद्को प्रतिक्रियास्वरूप नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बङ्गलादेश सरकारलाई आग्रह गरेको थियो ।
यसैगरी, बङ्गलादेशका विदेशमन्त्री डा। खलिलुर रहमानले अगस्ट २७ मा नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गरेका थिए । वार्ताका क्रममा उनले आवश्यकता अनुसार नेपाललाई सम्भव सबै प्रकारको सहयोग गर्न बङ्गलादेश तयार रहेको आश्वासन दिँदै मानवीय सहयोग विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया