काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाकाबाट सवारीसाधन आयातमा अस्थायी अवरोध भएपछि नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर B10 को आयात मार्ग परिवर्तन गरेको छ ।
यसअघि चीनबाट रसुवागढी नाका हुँदै लिपमोटरका गाडी नेपाल भित्र्याउँदै आएको कम्पनीले अहिले मुस्ताङस्थित कोरला नाकाबाट B10 आयात गर्न थालेको हो । ग्राहकलाई समयमै गाडी उपलब्ध गराउने उद्देश्यले ढुवानी तथा भन्सार जाँचपासको प्रक्रिया तीव्र बनाइएको कम्पनीले जनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा लिपमोटर B10 ले उत्साहजनक प्रतिक्रिया पाउनुका साथै ठूलो संख्यामा बुकिङ भएकाले माग पूरा गर्न वैकल्पिक नाकाबाट आयात सुरु गरिएको सांग्रिला मोटर्सले जनाएको छ । कम्पनीका अनुसार अब ग्राहकलाई गाडी डेलिभरी गर्ने प्रक्रिया छिट्टै सुरु हुनेछ ।
बजेट भाषणपछि मूल्य घटेर लिपमोटर B10 को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । ईभी पारखीमाझ लोकप्रिय बनेको B10 मा १६० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ६०० किलोमिटरसम्म रेन्ज दिन्छ ।
गाडीमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको २.५ केएचडी टचस्क्रिन, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६० डिग्री क्यामेरा लगायतका सुविधा छन् ।
त्यस्तै, हिटर तथा भेन्टिलेसन सुविधासहितको प्रिमियम लेदरेट सिट र पानोरामिक सनरुफलगायतका सुविधासमेत B10 मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया