अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजद्वारा नेपालको बाढीप्रति दुःख व्यक्त, भने– ‘विपदमा अस्ट्रेलिया नेपालसँगै छ’

लोकपथ
0
Shares

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै अल्बानिजले विपद्को समयमा अस्ट्रेलिया नेपालसँगै रहेको बताएका हुन् । उनले नेपाललाई आवश्यक मानवीय सहायता, राहत सामग्री, उपकरण र प्राविधिक टोलीमार्फत सहयोग गरिरहेको जानकारी दिए ।

बाढीका कारण भएको क्षति निकै दुःखद रहेको बताउँदै उनले नेपालमा अझै बेपत्ता रहेका अस्ट्रेलियाली नागरिकको खोजीका लागि हरसम्भव प्रयास गर्ने बताएका छन् । उनले बेपत्ता नागरिकका परिवार तथा आफन्तप्रति सहानुभूति पनि व्यक्त गरे ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति अस्ट्रेलिया सरकार र नागरिकले देखाएको सहयोग र ऐक्यबद्धताप्रति धन्यवाद दिए ।

उनले उद्धार तथा राहतका लागि अस्ट्रेलियाले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली, राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

प्रधानमन्त्री शाहले बाढीपछि बेपत्ता भएका अस्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिएको जानकारी दिँदै उद्धार, राहत र पुनःस्थापनाका काममा अस्ट्रेलियासँग निरन्तर सहकार्य गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?