काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष डा.बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
अध्यक्ष अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् ।
भदौ १४ गते बसेको हिमालयन बैंकको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो । श्रेष्ठको राजीनामा स्वीकृत भएको चार दिनपछि नै सञ्चालक समितिले अर्याललाई अध्यक्ष नियुक्त गरेको हो ।
पूर्वमुख्यसचिव अर्याल यसअघि नै हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत थिए । उनी नेशनल लाइफ इन्स्योरेन्सको प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा आएका थिए ।
सरकारी सेवामा लामो समय काम गरेका अर्यालले अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । उनले नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
प्रशासनिक तथा सार्वजनिक व्यवस्थापनको लामो अनुभव भएका अर्यालको नेतृत्वमा बैंकको संस्थागत सुशासन, रणनीतिक योजना तथा समग्र बैंकिङ गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया