बाढीपीडितका लागि नेपाल बैंकले ३ करोड १ लाख सहयोग गर्‍यो

लोकपथ
49
Shares

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अर्थमन्त्री वाग्लेले बाढीपीडितका लागि सहयोग गरेको भन्दै नेपाल बैंक परिवारलाई धन्यवाद दिए ।

बैंकले बाढी तथा पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।

सञ्चालक समितिका सदस्य लम्सालले प्राकृतिक विपद्का बेला बैंकले यसअघि पनि आर्थिक सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यस्ता विपद्मा बैंकको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र सुशासन डिभिजन प्रमुख होमनाथ दाहाललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?