‘नाडा अटो शो’ मा टाटाको यी तीन ईभीमा भारी छुट, नयाँ मूल्य कति ?

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शो २०२६ को अवसरमा टाटा मोटर्सले आफ्ना विद्युतीय कारमा विशेष छुट घोषणा गरेको छ । कम्पनीले पञ्च ईभी, टियागो ईभी र नेक्सन ईभीको मूल्य घटाएर नयाँ मूल्य सार्वजनिक गरेको हो ।

नाडा अफरअन्तर्गत टाटा पञ्च ईभीको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ थियो । अर्थात् कम्पनीले १ लाख रुपैयाँ छुट दिएको हो ।

पञ्च ईभी ३२ किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

पञ्च ईभीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन् ।

त्यस्तै, टाटा टियागो ईभीको मूल्य २७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ थियो । टियागो ईभीमा २४ किलोवाट आवरको लिथियम आयन ब्याट्री र ५५ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । मोटरले ११४ एनएम टर्क उत्पादन गर्छ ।

यस्तै, नेक्सन ईभी क्रियटिभको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसअघि यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो ।

नेक्सन ईभीमा ४५ किलोवाट आवरको प्रिज्म्याटिक ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ३७५ किलोमिटरसम्म रेन्ज दिन्छ । यसमा ९८ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ ।

नेक्सन ईभीलाई ७.२ किलोवाटको एसी चार्जर तथा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जरबाट चार्ज गर्न सकिन्छ । यसमा ऊर्जा बचतका लागि चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिइएको छ ।

नाडा अटो शोको अवसरमा टाटाले सार्वजनिक गरेको विशेष मूल्यले नेपाली बजारमा विद्युतीय कारको बिक्री थप बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?