सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, १४२ प्रकारका सामग्री उपलब्ध

लोकपथ
14
Shares

काठमाडौं । सिंहदरबार परिसरमा कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गर्दै सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बिहीबार बिक्री कक्षको उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा मन्त्री कुमारीले बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कामका लागि आउने सेवाग्राही लाभान्वित हुने बताइन् । कार्यालय समयपछि घर फर्कने क्रममा आवश्यक दैनिक उपभोग्य वस्तु सहजै खरिद गर्न सकिने भएकाले समय बचत हुनुका साथै व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

मन्त्री कुमारीले सिंहदरबार प्रवेश गर्ने सबैलाई बिक्री कक्षको अवलोकन गरी सेवा लिन आग्रह गरिन् । उनका अनुसार हाल देशका विभिन्न पाँच स्थानमा यस्ता बिक्री कक्ष सञ्चालनमा छन् । आगामी दिनमा सेवा थप विस्तार गर्ने तयारी रहेको उनले जानकारी दिइन् ।

सरकारी स्टल निजी क्षेत्रका भाटभटेनीजस्ता सुपरमार्केटमा समेत राख्ने विषयमा गृहकार्य भइरहेको मन्त्री कुमारीले बताइन् । उनका अनुसार सिंहदरबारको बिक्री कक्षमा दैनिक उपभोग्य १४२ प्रकारका खाद्य सामग्री उपलब्ध छन् । नजिकै दुग्ध विकास संस्थान (डीडीसी) को बिक्री केन्द्रसमेत रहेकाले उपभोक्तालाई आवश्यक सामग्री एकै क्षेत्रबाट खरिद गर्न सहज हुने उनले बताइन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको हो ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कार्यालय समयपछि खाद्यान्न खरिद गर्न कठिनाइ हुने कर्मचारी तथा सेवाग्राहीको मागलाई सम्बोधन गर्न सम्बन्धित मन्त्री र सचिवको निर्देशनमा बिक्री कक्ष सञ्चालन गरिएको बताए ।

लम्सालका अनुसार कम्पनीले देशभरका १९३ स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउँदै आएको छ । कम्पनीले उपलब्ध गराउने विभिन्न खाद्यान्नमा प्रतिकिलोग्राम ५ रुपैयाँ छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

दुर्गम क्षेत्रमा सेवाको पहुँचबारे उठेका प्रश्नबारे स्पष्ट पार्दै लम्सालले कर्णालीका सबै जिल्ला तथा स्थानीय तहमा सम्झौतामार्फत बिक्री केन्द्र सञ्चालनमा रहेको बताए ।

कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गरी उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको जनाएको छ । यसबाट किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको उसको दाबी छ ।

कोरोना महामारीका बेला सुरु गरिएको ‘होम डेलिभरी’ सेवा विशेष परिस्थितिमा हाल पनि उपलब्ध रहेको लम्सालले बताए । यद्यपि, उपभोक्ताले स्वयं बिक्री केन्द्रमा उपस्थित भएर सामान रोजेर खरिद गर्न बढी रुचाउने गरेको उनको भनाइ छ ।

सरकारको पछिल्लो सक्रियतासँगै डीडीसीजस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ । आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै निमित्त प्रमुख लम्सालले कम्पनीले उपलब्ध गराउने खाद्य तथा गैरखाद्य वस्तुको सेवा लिन आम उपभोक्तालाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?