काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयका समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
विश्वविद्यालयको वर्तमान अवस्था बुझ्न तथा आगामी कार्ययोजनाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
उनले विशेषगरी विश्वविद्यालयको आफ्नै भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा मन्त्री पोखरेलले जग्गा प्राप्तिसम्बन्धी कानुनी प्रक्रिया छिटो टुङ्ग्याएर भवन निर्माणको काम अघि बढाइने आश्वासन दिए । आफ्नै भवन नहुँदा विश्वविद्यालयले भोग्दै आएका कठिनाइप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।
भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई क्रिकेट ब्याट, बल, फुटबललगायत खेलकुद सामग्री हस्तान्तरण गरे । करिब दुई महिनाअघि जनकपुर भ्रमणका बेला विद्यार्थीले खेल सामग्रीको अभावबारे राखेको गुनासो सम्बोधन गर्दै उनले पूर्वप्रतिबद्धताअनुसार सामग्री उपलब्ध गराएको बताए ।
यस्तै, मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानअन्तर्गत तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिँदै मन्त्री पोखरेलले अभियानको प्रगति सन्तोषजनक रहेको बताए । उनले प्रदेश प्रमुख तथा सम्बन्धित निकायसँग थप समन्वय गरी अभियानको कार्यान्वयनलाई प्रभावकारी बनाइने उल्लेख गरे ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा चुनौतीहरू भए पनि ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै सुधारका कामलाई तीव्रता दिइने बताए । विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन गरी आफ्नै भवन निर्माण प्रक्रिया सकेसम्म छिटो सुरु गर्ने सरकारको तयारी रहेको उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया