काठमाडौं । होर्मुज जलमार्गमा एउटा तेल ट्यांकर समुद्री माइनसँग ठोक्किँदा आगलागी भएको छ ।
इरानको सरकारी समाचार संस्था तास्निमका अनुसार ट्यांकर इरानले तोकेको सुरक्षित समुद्री मार्ग छोडेर अर्को बाटोबाट जाँदै गर्दा माइनसँग ठोक्किएको हो । अर्ध–सरकारी मेहर समाचार संस्थाले पनि जहाज निर्धारित मार्गबाट बाहिरिएपछि दुर्घटना भएको जनाएको छ ।
इरानले यसअघि नै होर्मुज जलमार्ग प्रयोग गर्ने सबै व्यापारिक जहाजलाई आफूले तोकेको समुद्री मार्ग मात्र प्रयोग गर्न चेतावनी दिएको थियो । साथै, तोकिएको मार्ग नअपनाउने जहाजले हुने जोखिमको जिम्मेवारी आफैं लिनुपर्ने पनि इरानको भनाइ थियो ।
घटनाबारे इरानी अधिकारीहरूले अहिलेसम्म आधिकारिक जानकारी दिएका छैनन् । ट्यांकर कुन देशको हो, आगलागीबाट कति क्षति भयो वा कुनै मानवीय क्षति भएको छ कि छैन भन्ने पनि पुष्टि भएको छैन ।
फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएपछि कुनै व्यापारिक जहाज समुद्री माइनसँग ठोक्किएको यो पहिलो घटना हो । युद्धका क्रममा इरानले होर्मुज जलमार्गमा समुद्री माइन बिछ्याएको थियो । पछि युद्धविराम भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती माइन हटाउन निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया