बुटवल । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । उनी हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
प्रहरीका अनुसार राणाले भैरहवा बजार क्षेत्रमा आफू घुमुवा प्रहरी भएको बताउँदै पेस्तोल देखाएर विभिन्न व्यक्तिसँग १० हजार रुपैयाँ माग गरिरहेका थिए । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरबाट नियन्त्रणमा लिएको हो ।
कानुनी प्रक्रिया पूरा गरी गरिएको खानतलासीका क्रममा उनको कोठाबाट नक्कली रिभल्वर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान र नेपाली नगद २ हजार ६०० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।
पक्राउ परेका राणामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया