काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेशा र व्यवसायमा गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले लोकतन्त्र व्यवहारमा देखिनुपर्नेमा जोड दिएका हुन् ।
उनले लोकतन्त्र केवल शब्दमा सीमित नरहेको भन्दै नागरिकले आफ्ना कर्म, पेशा र व्यवसायप्रति आत्मसम्मान महसुस गर्न पाउनु नै लोकतन्त्रको वास्तविक मापन भएको बताए । पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर सबैले आफ्नो कामप्रति गर्व गर्न पाउनुपर्ने उनको भनाइ थियो ।
‘पेशा वा व्यवसायका आधारमा कोही सानो वा ठूलो हुँदैन । लोकतन्त्रमा सबै कर्मलाई धर्म ठानी सम्मान गर्नुपर्छ,‘महानिरीक्षक कार्कीले भने ।
उनले समाजमा रहेको विभेदकारी सोचको आलोचना गर्दै मानिसको ओहदा वा हैसियत हेरेर फरक व्यवहार गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने बताए । घर, समाज, प्रहरी कार्यालय वा सरकारी निकाय जहाँसुकै पनि सबै नागरिकलाई समान सम्मान र व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिकलाई कुनै पनि आधारमा विभेद गर्न नहुने उल्लेख गर्दै कार्कीले प्रहरीले समान व्यवहारसहित सेवा प्रवाह गर्नुपर्ने बताए ।
उद्घाटन गरिएका नयाँ भवनहरूले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै प्रहरी कर्मचारीको कार्यसम्पादनमा समेत थप ऊर्जा दिने विश्वास उनले व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया