मुख्य राजमार्गमा बाढी-पहिरोको असर, यात्रुहरू मर्कामा

लोकपथ
7
Shares

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले देशका धेरै मुख्य सडक र राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरी र सडक विभागका अनुसार पाँच प्रदेशका धेरै सडक अहिले बन्द भएका छन् वा आंशिक रूपमा मात्र सञ्चालनमा छन् ।

कोशी प्रदेशमा भोजपुरको मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी मात्र सवारी चलिरहेको छ । इलामको मेची राजमार्ग र खोटाङको मध्य पहाडी लोकमार्ग (दिक्तेल–रुपाकोट खण्ड) पहिरोका कारण पूर्ण रूपमा बन्द छन् । इलाममा भने वैकल्पिक बाटो प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

बागमती प्रदेशमा पनि बाढी र पहिरोको जोखिम बढेको छ। काभ्रेको बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ । दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर–मनाङ सडक र म्याग्दीको बेनी–जोमसोम सडक पहिरोका कारण पूर्ण रूपमा बन्द छन् । यसले यात्रुहरूलाई निकै समस्या भएको छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर (जाजरकोट–डोल्पा खण्ड) बाढीका कारण बन्द छ । सुदूरपश्चिम प्रदेशको डडेलधुरामा रहेको के।आई। सिंह राजमार्गमा पहिरो खसे पनि अहिले एकतर्फी रूपमा सवारी चलिरहेको छ ।

वर्षा अझै जारी रहेकाले थप बाढी र पहिरोको जोखिम रहेको छ। त्यसैले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि प्रहरी वा सडक विभागबाट सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?