काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको उत्पादन, प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत तथा व्यावहारिक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगलाई आयात प्रतिस्थापन, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले तीनै तहका सरकारबीच समन्वय गरेर जुत्ता–चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने र उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने जानकारी दिए ।
छलफलका क्रममा एफएमएएनका पदाधिकारीहरूले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरीपैठारी नियन्त्रण गर्न, करको दायराबाहिर रहेका स्वदेशी तथा विदेशी उत्पादनलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन जुत्ता–चप्पलको आयात रोक्न तथा आयातित जुत्तामा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनीहरूले आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री वातावरण सुनिश्चित भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास व्यक्त गरेका थिए ।
छलफलमा एफएमएएनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया