काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न खाद्य व्यवसायहरुमा खानेकुरामा कैफियत भेटिएको गुनासोपछि कारबाही गरिएको छ ।
उपभोक्ताको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण निणन्त्रण विभागले गत असार ३० गते ती स्थानहरुमा निरीक्षण गरेको थियो ।
सो क्रममा काठमाडौंको लैनचौरमा रहेको गाउँबेसी थकालीसहित ५ वटा होटल तथा रेष्टुरेन्टरलाई कारबाही गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार गाउँबेसी थकालीका केही प्रशोधित खाद्य पदार्थमा लेबल नभएको र केहीमा पूर्ण लेबल वितरण नभएको तथा फ्रिजको प्रयोग अव्यवस्थित, किट नियन्त्रणको अवस्था नभएको, भण्डारण कक्षमा उपभोग्य मिति समाप्त भएको पाँच सय थान ४०० मिलिलिटरको रोज वाटर र एक थान १९० मिलिलिटरको केवरा वाटर पाइएको थियो ।
विभागले गाउँबेसीलाई भेटिएका कैफियत सुधार पश्चात प्रमाणसहित विभागमा जानकारी गराउन निर्देशन दिइएको विभागकी प्रवक्ता डा.बालकुमारी शर्माले जानकारी दिइन् ।
यसैगरी काठमाडौंको ठमेलमा रहेको भागवती कोल्डस्टोरमा समेत विभागले अनुगमन गरेको छ । अनुगमनका क्रममा सरसफाईको अवस्था सन्तोषजनक नभएको, पूर्ण लेभव विवरण नभएको खाद्य पदार्थ बिक्री वितरण गरेको तथा कीट नियन्त्रणका लागि उचित व्यवस्था नभएको लगायतका कैफियत फेला पारेको थियो ।
विभागले उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थहरुको नष्ट गरिएको, खाद्य स्वच्छता कायम गरी व्यवसाय सञ्चालन गर्न र कीट नियन्त्रण प्रभावकारी रुपमा गर्न निर्देशन दिइएको छ । यसैगरी थप अनुसन्धान तथा कारबाही काठमाडौं महानगरपालिकाले अघि बढाउनेछ ।
विभागले ललितपुरमा रहेको ईरानी चियामा समेत अनुगमन गरेको छ । उपभोक्ताको गुनासोपछि अनुगमनका क्रममा पूर्ण लेबल विवरण नभएको खाद्य पदार्थ जस्तै डोनट तथा फ्रुट सिरप पाइएको, भान्सामा फोहोरदानी नछोपी खुला रुपमा राखिएको, फ्रिजमा रहेको खाद्य वस्तु सन्तोषजनक अवस्थामा नपाइएको हो ।
विभागले इरानी चियाबाट पूर्ण लेबल विवरण नभएका खाद्य वस्तुहरु फिर्ता गर्न लगाइएको तथा नियमित सरसफाइ गर्न निर्देशन दिइएको छ ।
यसैगरी काठमाडौंको म्हैपीमा रहेको कृष्णा अर्पण सप्लिमेन्ट एण्ड ब्यूटी स्टोरमा समेत विभागले अनुगमन गरेको छ । स्टोरको बिक्री शाखा सन्तोषजनक रहेको, उजुरी गुनासोमा उल्लेख गरेअनुसारको सेरेलिकमा कीरा नभेटिएको तर उही ब्याचको सेरेलेकको दुई थान नमुना स्टोरको बिक्री शाखामा भेटिएको विभागले जनाएको छ । विभागले प्रयोगशाला परीक्षणका लागि सेरेलेकको नमुना संकलन गरेको जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१४ मा रहेको एसजि नेपाल प्रालिमा समेत विभागले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा भण्डारण व्यवस्थित नभएको, यही उद्योगको अर्को शाखाबाट उत्पादित मिल्क प्रेमिक्स प्रिपियरेसन को इन्ग्रिडेण्ट मा स्कीम्ड मिल्क पावर रहेको भनी उल्लेख गरेको पाइएको हो । यसैगरी स्टोरमा रंग लगाउने खाद्य पदार्थ नहटाइ रंग लगाएको पाइएको विभागकी प्रवक्ता शर्माको भनाइ रहेको छ ।
एसजि नेपाललाई स्टोरमा भण्डारण प्रणाली व्यवस्थित बनाउने, स्टोरमा रंग लगाउँदा वा मर्मत गर्दा खाद्य पदार्थमा संक्रमण नहुने गरी टाढा राख्न निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया