मनसुनी प्रभाव कायम : देशका विभिन्न स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

लोकपथ
42
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक तथा पूर्वी क्षेत्रमा औसत स्थान आसपास रहेको छ ।

यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, कोशी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा तथा मधेस, कोशी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?