काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम गरिरहेको भन्दै होटल व्यवसायीलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्र सरकारको प्रमुख साझेदार भएकाले राज्यसँग सहकार्य गर्दै अघि बढ्न व्यवसायीलाई आग्रह गरेका हुन् ।
उनले कानुनको पालना गर्दै व्यावसायिक जिम्मेवारी निर्वाह गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्यका सम्भावनाबारे अध्ययन गर्न सुझाव दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा होटल संघ नेपालले मुलुकको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम भए पनि हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल आउने गरेको जानकारी गरायो । संघले पर्यटक आगमन बढे रोजगारी सिर्जना हुने र नेपाली युवाको वैदेशिक पलायन रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्यो ।
संघले नेपाललाई आरोग्य पर्यटन, विवाह गन्तव्य (डेस्टिनेसन वेडिङ) तथा सीमापार पर्यटनको केन्द्रका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत मागसमेत प्रस्तुत गरेको छ ।
व्यवसायीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, २५ शय्यासम्मका होटलका लागि आवश्यक रहेको सङ्क्षिप्त वातावरणीय मूल्याङ्कनको सीमा ५० शय्यासम्म विस्तार गर्न तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरेका छन् ।
साथै नेपाल एयरलाइन्सको सेवा सुधार, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा ट्रेडमार्क रोयल्टी सम्बन्धी व्यवस्था संशोधन तथा होटल व्यवसायसँग सम्बन्धित कानुन पुनरावलोकन गर्न पनि आग्रह गरिएको छ ।
त्यसैगरी, नेपाललाई विवाह गन्तव्यका रूपमा प्रवर्द्धन गर्न गरगहना आयात प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटनको प्रचारका लागि फोटो–भिडियोमा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’सहितका प्रचार प्याकेज र विज्ञहरूको व्यवस्था गर्न सरकारसँग अनुरोध गरिएको छ ।
छलफलमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ, आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया