एलपी ग्यासमा कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

लोकपथ
0
Shares
ग्यासको सांकेतिक तस्बिर

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव तथा आपूर्ति व्यवस्थापनमा देखिएका समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति रहबर अन्सारीले ग्यास आपूर्तिको दीर्घकालीन समाधानका लागि पाइपमार्फत ग्यास वितरण प्रणाली विस्तारको सम्भावना, प्रभाव र आवश्यक तयारीबारे अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा प्रतिवेदन पेस गर्न मन्त्रालयलाई निर्देशन दिए ।

समितिले पुराना एलपी ग्यास सिलिन्डरको प्रयोगबाट उपभोक्तामा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न पनि सम्बन्धित निकायलाई सचेत गराएको छ । सभापति अन्सारीले नेपाल एलपी ग्यास उद्योग, नेपाल आयल निगम र मन्त्रालयले नियमित अनुगमन सञ्चालन गर्दै सिलिन्डरको गुणस्तर परीक्षण र सुरक्षाको सुनिश्चितता गर्न निर्देशन दिएका छन् ।

समितिले उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?