काठमाडौं । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका एक युवक आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।
सो ठाउँका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आत्मदाहको प्रयास गरेका हुन् । जसबाट उनको घाँटीदेखि तलसम्मको करिब ३१.५ प्रतिशत शरीर जलेको छ ।
घटनापछि घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएकोमा बिहान करिब ४ बजे प्रहरीलाई त्यसबारे जानकारी गराइएको थियो । लगत्तै प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमान्डमा घटनास्थल र अस्पतालमा टोली खटिएको थियो ।
सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौं ल्याइएको छ । हाल उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
सहनीले गरुडा बजारस्थित झा पुलनजिक एउटा सानो छाप्रे होटल सञ्चालन गर्दै आएका थिए । सोही व्यवसायबाट उनले आफ्नो परिवार तथा तीन छोराको पालनपोषण गर्दै आएका थिए ।
पछिल्लो समयमा आत्मदाहको घटना बढ्दै गएको छ । एक साताको अवधिमा मात्रै काठमाडौंमा दुई र सर्लाहीमा एक जना गरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको बुद्धनगर निवासी ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया