असार सकिँदा देशभर ५० प्रतिशत मात्र रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिममा

लोकपथ
0
Shares

ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको भए पनि यस वर्ष हालसम्म ५० प्रतिशत मात्र रोपाइँ भएको जानकारी दिए ।

प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकी प्रदेशमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६० प्रतिशत, लुम्बिनी प्रदेशमा ५९ प्रतिशत र बागमती प्रदेशमा ५७.१ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । यता, कोशी प्रदेशमा ३२ प्रतिशत र मधेश प्रदेशमा ३२.७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ ।

कृषि विभागका अनुसार देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँको गति थप बढ्ने अपेक्षा गरिएको छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझ तीव्र रूपमा अघि बढ्ने विभागको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?