मनसुनजन्य विपद्का लागि पूर्वतयारी गर्न सरकारलाई सभामुखको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धारका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् ।

उनले मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटना बढ्न थालेको उल्लेख गर्दै विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्न आग्रह गरे ।

सभामुख अर्यालले विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यून गर्न राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनुका साथै नागरिकको आवतजावत सहज र सुरक्षित हुने गरी सवारी सञ्चालनको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘यस वर्षको मनसुन सुरु भई बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधिसभामा पछिल्ला दिनहरूमा सांसदहरूले पनि मनसुनजन्य विपद्का विषयमा सरकारको तयारीबारे प्रश्न उठाउँदै राहत, उद्धार र पूर्वतयारीलाई प्रभावकारी बनाउन माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?