‘सञ्चार माध्यमको गेटमा गाडी राख्नुमा सरकार र सरकारका मान्छेको हात छैन’

लोकपथ
483
Shares

काठमाडौं । सोमबार दिनभर विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमा राखिएका शंकास्पद गाडीले हलचल मच्यायो ।

बिहानै विभिन्न ठूलो मिडिया हाउस र कांग्रेस सभापति गगनकुमार थापाको निवासअघि गाडी पार्किङ गरेर राखिएको थियो ।

त्यस विषयमा सत्तारुढ रास्वपासहित अन्य राजनीतिक दलहरुले मात्र होइन संसदीय समितिमा समेत प्रश्न उठेको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो ध्यानाकर्षण गराएको हो ।

बैठकमा बोल्दै समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर र भाटभटेनी सुपरमार्केटअगाडि शंकास्पद रूपमा सवारी पार्किङ गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध गर्ने कार्यमा सरकारको संलग्ना नरहेको समेत दाबी गरिन् ।

निजी नम्बर प्लेट भएका सवारी रहेको र सबै सवारी साधनलाई ट्राफिक प्रहरीले हटाइसकेको जानकारी समितिलाई गराइन् ।

सञ्चार माध्यमलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने भन्दै उनले घट्नाको गम्भीर रूपमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिन् ।

उनले भनिन्, ‘कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइन बर र भाटभटेनी सुपरमार्केट अगाडि कसैले गाडी गरेको खबर आएको छ । मिडिया हाउस अगाडि सरकारले गाडी पार्किङ गरेको होइन । गाडीका नम्बर प्लेट हेर्दाखेरि प्राइभेट नम्बर प्लेटहरू देखिएको छ । यो विषयमा पनि समितिको ध्यानाकर्षण भएको छ । यहाँ बस्दाबस्दै ट्राफिक प्रहरीले ती गाडीहरू उठाइराखेको भनेर जानकारी आएको छ । मलाई जहाँसम्म लाग्छ सरकारले यस्तो काम गर्दैन । यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ । मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस् यसलाई गम्भीर रुपमा लिएर भोलिको दिनमा पनि उचित छलफल गर्नुपर्छ ।’

सोमबार बिहानैदेखि अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ गरिएको भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?