काठमाडौं । अविरल वर्षा र त्यससँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । प्रहरीका अनुसार आज दिउँसो १२ः५० बजेसम्म देशभरका १४ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलो भएपछि सवारीसाधन सञ्चालन हुन नसकेको छ। त्यस क्षेत्रमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
कालिकोटको कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा वर्षाका कारण करिब १५ मिटर सडक पाँच फिट तल भासिएको छ । सडक भासिएपछि उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।
ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित पाङदुर, टाकुर्चे र भालु खोलाअन्तर्गत कान्तिलोकपथ सडकखण्डमा पनि लगातारको वर्षाले पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यसैगरी, पाँचथरको याङवरक गाउँपालिका–१, २ र ३ हुँदै जाने मध्यपहाडी लोकमार्गमा माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।
प्रहरीले प्रभावित सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । वर्षा निरन्तर भइरहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया