नेपाली भाषा नेपालको ‘सफ्ट पावर’ हो : शिशिर खनाल

लोकपथ
14
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत विश्वभर छरिएका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन् ।

भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले सोमबार आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’ लाई सम्बोधन गर्दै मन्त्री खनालले भाषा नेपालको सबैभन्दा ठूलो सांस्कृतिक शक्ति भएको उल्लेख गरे ।

उनले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेजस्तै भानुभक्तले भाषा र साहित्यका माध्यमबाट नेपाली समाजको भावनात्मक एकीकरण गरेको बताए ।

‘जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो,‘मन्त्री खनालले भने ।

उनका अनुसार वर्तमान समयमा नेपालको ‘सफ्ट पावर’ नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै हो । संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले जोड्ने र आफ्नोपनको अनुभूति गराउने उनले बताए ।

भानुभक्त र घाँसीको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले समाज र राष्ट्र निर्माणमा हरेक नागरिकको योगदान आवश्यक रहेको धारणा राखे । ‘घाँसीले आफ्नो नाम रहोस् भन्ने भावनाले कुवा खनेजस्तै हामीले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्छ,‘उनले भने ।

तनहुँको चुँदीमा जन्मिएका मन्त्री खनालले आदिकवि भानुभक्तप्रति आफ्नो विशेष भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै भानु जयन्तीले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा सधैँ प्रेरणा दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले भानु माध्यमिक विद्यालय परिसरमा रहेको भानुभक्तको प्रतिमा नेपालकै पहिलो प्रतिमा भएको दाबी गर्दै यसको ऐतिहासिक महत्व रहेको बताइन् ।

उनका अनुसार नेपाली शिक्षा परिषद्को अगुवाइमा विसं २०१६ असार २९ गते स्थापना गरिएको उक्त प्रतिमामा हरेक वर्ष माल्यार्पण गरी भानु जयन्ती मनाउने परम्परा रहँदै आएको छ ।

विसं २०१६ मै स्थापना गरिएको उक्त प्रतिमाको अनावरण तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?