राहदानी विभागले ल्यायो नयाँ राहदानी प्रणाली सञ्चालनमा

लोकपथ
21
Shares

काठमाडौं । राहदानी विभागले डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले जारी गरेको सूचनाअनुसार आजबाट नयाँ प्रणाली कार्यान्वयनमा आएको हो ।

विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ ।

विभागले यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनपछि सुरुवाती चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिन सक्ने जनाएको छ । यस्ता समस्या समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागको भनाइ छ ।

विभागले प्रारम्भिक चरणमा अत्यावश्यक परेका सेवाग्राहीले मात्र राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ । यसबाट नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास विभागले व्यक्त गरेको छ ।

त्यस्तै, राहदानी सेवासम्बन्धी सूचना तथा समाचार विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित जानकारीलाई मात्र आधार बनाउन पनि विभागले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?