भानु जयन्तीमा सभामुख अर्यालको आह्वान : ‘नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण गरौँ’

लोकपथ
35
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन् ।

सोमबार काठमाडौंमा २१३औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी त्यसलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच नेपाली भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे । उनले भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनतासँगको निकटताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न आवश्यक रहेको बताएका छन् ।

उनले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयानुकूल रूपमा रूपान्तरण गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । भानुभक्तको सम्मानमा गरिने हरेक कार्य नेपाली राष्ट्रियताको संरक्षण र मौलिकताको परिचायक हुने उनको भनाइ थियो ।

सभामुख अर्यालले भने, ‘आजको दिन हामीले भानुभक्तलाई सम्झनु मात्र होइन, उहाँको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनु आवश्यक छ। आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच पनि हाम्रो भाषा, संस्कृति र पहिचानलाई जोगाउनु तथा उन्नत बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।’

कार्यक्रममा सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा.आना एम सिस्टरलाई सम्मान समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?