इलाम । लगातार परेको वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ ।
इलाम नगरपालिका–९ स्थित उक्त सडक जोखिमपूर्ण बनेपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
यसअघि चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन् । आइतबारसम्म मोटरसाइकललाई भने आवतजावत गर्न दिइएको थियो । तर सडक थप भासिएपछि जोखिम बढेकाले सबै सवारीसाधन बन्द गरिएको हो ।
सडक अवरुद्ध भएपछि इलामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क विच्छेद भएको छ । झापा जाने र आउने ठूलो संख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् ।
वर्षाका कारण वैकल्पिक सडकसमेत प्रभावित भएका छन् । राजदुवाली क्षेत्रको विकल्पका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त मार्ग पनि बन्द भएको छ ।
यस्तै, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजंघा सडकअन्तर्गत पुवा खोलाको डाइभर्सनसमेत बाढीले बगाएको छ । यसले गर्दा इलाम, पाँचथर र ताप्लेजुङबाट झापा जाने मुख्य सडकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सडक डिभिजन इलामका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज निर्माणका लागि आवश्यक संरचना तयार भए पनि भारतबाट आउने भनिएको बेलीब्रिज सामग्री नआएकाले काम अघि बढ्न सकेको छैन ।
सडक बन्द भएपछि अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरू जोखिमपूर्ण राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् । लगातारको वर्षाका कारण इलामका विभिन्न सडकमा पहिरो र भासिने समस्या बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया