काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिइ घर पुर्याइदिएको छ ।
प्रसाईँ गृहजिल्ला झापाबाट आइतबार (आज) काठमाडौं ओर्लिएका थिए । झापा–काठमाडौं आउजाउ गरिरहने प्रसाईँ विमानस्थलमा ओर्लिँदा बाक्लो मात्रामा युट्युबरहरुको भीड लाग्ने गर्दछ । राजावादी अभियन्ता समेत रहेका प्रसाईँले आज विमानस्थलमा नै विरोध गर्ने चाल पाएपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरको गोठाटारस्थित निवासमा छाडिदिएको हो ।
प्रसाईँले विमानस्थलमा विरोधको कार्यक्रम गर्न लागेको र त्यसले शान्ति सुरक्षामा खलल पुर्याउने भन्दै प्रहरीले घरसम्म आफैँ पुर्याइदिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले लोकपथलाई जानकारी दिए ।
विमानस्थल आफैँमा निषेधित र संवेदनशील क्षेत्र हो । प्रसाईँ विमानस्थलमा झर्दा प्राय युट्यूबर र उनका समर्थकहरु पुग्ने गरेका कारण प्रहरीलाई त्यहाँको शान्ति सुरक्षा काम गर्न समेत हम्मेहम्मे पर्ने गरेको थियो । एसपी भट्टराईले विमानस्थलमा हुनसक्ने हुलहुज्जतलाई ध्यानमा राख्दै सुरुमै सावधानी अपनाइएको बताए ।
‘उहाँ (दुर्गा प्रसाईँ) ले विमानस्थलमा नै विरोधको कार्यक्रम गर्ने भन्नुभएको रहेछ । त्यो आफैँ निषेधित क्षेत्र हो । हाम्रो प्रशासनले पनि निषेधित र संवेदनशील क्षेत्रमा विरोध प्रदर्शन गर्न नपाइने भन्दै सजग गराएको थियो । आज उहाँ आउँदा त्यहाँ विरोधका केही कार्यक्रम हुन लागेको थाहा पाएपछि उहाँलाई त्यसो नगर्न भन्दै हामीले सहजीकरण गरेर घर पुर्याइदिएका हौँ,’ एसपी भट्टराईले लोकपथसँग भने ।
त्यसो त आज प्रहरीले युट्यूबरहरुलाई विमानस्थलको मुख्य प्रवेशद्वार गोल्डेन गेटमा नै रोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया