अति महत्त्वपूर्ण विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

लोकपथ
35
Shares

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अब एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

ट्राफिक जरिबानाबारे दिएको अभिव्यक्तिपछि विवाद भएपछि उनले शनिबार सामाजिक सञ्जाल एक्स मार्फत अति महत्वपूर्ण सार्वजनिक विषयबाहेक कुनै पनि सञ्चारमाध्यम, युट्युबर वा सामाजिक सञ्जालका सञ्चालकलाई अन्तर्वार्ता नदिने बताएका हुन् ।

उनले लेखेका छन्, ‘आजदेखि एक वर्षसम्म अति महत्वपूर्ण सार्वजनिक विषयबाहेक कसैलाई पनि एक शब्द पनि अन्तर्वार्ता दिने छैन ।’

पुनका अनुसार केही दिनअघि ट्राफिक जरिबानाबारे आफूलाई जानकारी नभएको बताउँदा पनि बारम्बार प्रश्न गरिएकाले त्यस क्रममा आफूले अटेर गर्नेलाई जरिबाना गर्नुपर्छ भनेको बताए । उनले ५० हजार रुपैयाँ जरिबानाको कुरा भने आफूले नभई अन्तर्वार्ता लिने पक्षले उठाएको दाबी गरेका छन् ।

यसअघि अन्तर्वार्तामा ५० हजार रुपैयाँ जरिबाना गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको स्वीकार गर्दै उनले उक्त भनाइ फिर्ता लिएका छन् । साथै, आफ्नो भनाइबाट कसैको मन दुखेको भए माफी पनि मागेका छन् ।

उनले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गर्दै नियम उल्लंघन गर्नेहरूले पनि आफ्नो व्यवहारबारे सोच्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?